
१माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
२आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
३फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
४दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
५प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
६एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
७क्रिप्टो कोलोनिष्ट; नीति तथा कार्यक्रम
८सुकुम्बासीमाथिको दमनविरुद्ध काठमाडौंमा संयुक्त संघर्ष समितिको प्रदर्शन
९नयाँ सुरक्षा नीतिसँगै उत्तर कोरिया आणविक आक्रामकतामा
१०South Asian Student Unions Oppose Ban on Student Organizations in Nepal
११गिद्धेदृष्टि नलगाऊ, लिपुलेक हाम्रो हो !
१२CPN (Bahumat) Raises Concern Over Lipulekh Road Agreement
१दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
२प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
३एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
४फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
५आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
६माइक्रोन्युट्रियन्ट पाउडर खरिद प्रक्रियाबारे छानबिनको माग
जनयुद्ध शुरु हुनुभन्दा केही समय अगाडि पत्रकार पुरुसोत्तम दाहालले अध्यक्ष कमरेड प्रचण्डसँग कुराकानी गरेका थिए । त्यसै कुराकानीका आधारमा पुरुसोत्तम दाहालले एउटा लेख लेखेछन् “सपनामा जनयुद्ध” । साँच्चै कैयौं मान्छेहरुका लागि जनयुद्ध वा जनवादी क्रान्ति सपना मात्र थिए । सभा सम्मेलनमा बोल्ने शब्द मात्र ।
त्यस बखत म चितवनको नारायणी उच्चमाध्यमिक विद्यालय भरतपुर, चितवनमा पढाइराखेको थिएँ । मेरी जीवनसंगिनी उर्मिला भट्टराई क्षेत्रपुरको एउटा बोर्डिङमा पढाउँथिन् । सानासाना दुईवटा सन्तान थिए, जेठो छोरा अंकित र कान्छी छोरी अनुज्ञा ।
हामीलाई जनयुद्धले आकर्षित गर्यो । आकर्षित नहुने कुरा पनि थिएन । देशबाट असमानता सदाकालागि अन्त हुनेछ । भूमिहिनहरुले भूमि पाउने छन् । सामन्तहरुको अन्त हुनेछ । यो देशमा कोही राजामहाराजा हुने छैनन् । भारतीय विस्तारवादको चङ्गुलबाट देश र जनतालाई मुक्त गरिनेछ । भारतसँग भएका सबै असमान सन्धि सम्झौताहरु खारेज गरिनेछ । वर्गीय, जातीय, क्षेत्रीय र लिङ्गीय असमानता हट्ने छ । नेपाल र नेपाली जनता पूर्णरुपले स्वतन्त्र हुनेछन् । जनताको आफ्नै सेना, सत्ता हुनेछ । हिजोका शासकहरुमाथि जनताको जनवादी अधिनायकत्व हुनेछ । शासक शासित हुनेछन् शासितहरु शासक हुनेछन् । यस्ता थिए जनयुद्धले लिएका अभिष्टहरु ।
यतिमात्र कहाँ हो र ? नयाँ जनवादको स्थापना गर्दै, समाजवाद हुँदै साम्यवादसम्म नपुगुञ्जेलसम्म यो यात्रा रोकिने छैन । त्यसपछि संसार श्रम गर्नेहरुको हुनेछ, जाली फटाह र काँतरको होइन । संसार भरीका मानिसको एउटै जाति हुनेछ । सिङ्गै संसार आवश्यकताबाट स्वतन्त्रताको संसारमा प्रवेश गर्नेछ । यसक्रममा क्रान्तिकारीहरुले की मृत्यु वरण गर्नेछन् कि त सबैलाई मुक्त गर्ने छन् । यसरी बन्ने छ नयाँ संसार । आह कति सुन्दर हुनेछ !
यही आदर्शबाट प्रेरित भएर हामी दुई पुरानो संसारसँग सम्बन्ध तोडेर जना ७ वर्षको छोरा र ५ वर्षकी छोरी आमा र बुबालाई छाडेर नयाँ संसार निर्माण गर्ने अभिलाषा बोकेर जनयुद्धमा सामेल भएका थियौं ।
जनयुद्ध बेगवान रेलभएर दौडिरहेको थियो । त्यसैले होला कमरेड लेनिनले एउटा सन्दर्भमा–“क्रान्तिकाकाल केही वर्षहरु शन्तिकालका विसौं वर्ष बराबर हुन्छन् ।” भन्नु भएको रहेछ । त्यही गतिमय रेलमा हामी पनि यात्रा गरिहेका थियों । तर हामी पूर्णकालीन भएको अठार महिना पुग्न नपाउँदै मैले आफ्नी प्रिय जीवनसंगिनी उर्मिलालाई गुमाएँ ।
हामी दुवै जना चितवनबाट एकै दिन पूर्णकालीन कार्यकर्ता भएका थियौं । जब देशमा संसदीय पार्टीहरुले माओवादी विरुद्ध सेना परिचालन गरे, संकटकाल लगाए, आतंककारी घोषणा गरे अनि नेता कार्यकर्ताको टाउकोको मोल तोके तब पार्टी भित्रका गद्दार र काँतरहरुले आत्मासमर्पण गर्न थाले । त्यसको नकारात्मक प्रभाव केही जिल्लाहरुमा पर्न पुग्यो । एकातिर नेता/कार्यकर्ता र जनताको हत्याको श्रृंखला, अर्कोतिर मुमाराम, शिशिर, सन्दिप जस्ता काँतर र गद्दारहरु गद्दारी र आत्मासमर्पणले शहरीया प्रकृतिका केही जिल्लाहरुमा नेता/कार्यकर्ताहरुको कमी हुन थाल्यो । यसै क्रममा चितवनका केही नेता/कार्यकर्ताहरुको पाल्पा, नवलपरासी, रुपन्देही, स्याङ्जा जिल्लामा सुरुवा भएको थियो । कृष्ण सेनको हत्या, महेश्वर दाहालको सुपुर्दगीले गर्दा मलाई केन्द्रीय प्रकाशन विभाग अन्तर्गत काम गर्न दिल्ली पठाइएको थियो ।
हामी चितवनबाट बिदा भएर तनहुँ, पाल्पा, नवलपरासी हुँदै म भारत प्रवेश गरेको थिएँ । उर्मिला पाल्पा गएकी थिइन् । नवलपरासीको कुनै पहाडी गाउँबाट हामी दुई छुट्टिएका थियौं । छुट्टिने क्रममा हामी दुईले दह्रो हात मिलाएका थियौं । उर्मिलाका आँखा भरी आँशु थिए । उनका दुवै आँखा राता भएका थिए । मैले औलाले नरुनु संकेत गरेको थिएँ । हात मिलाउँदै गर्दा उनीले “तपाई त सुर्पुदगी पर्नुहुन्छ होला । हाफू त शहीद हुने हो ।” भनेकी थिइन् । उर्मिलाको मुखबाट मेरा लागि निस्किएको अन्तिम वाव्य यही थियो । हामी साउन १३ गते छुट्टियौं । भदौ ३ गते उनको शहादात भयो । उर्मिलाको शहादातको खबर मैले २५ गते मात्र दिल्लीमा पाएको थिएँ । मलाई केवल शहादातको खवर मात्र दिइएको थियो । तर त्यसको प्रकृतिका बारेमा केही पनि जानकारी दिइएको थिएन ।
केन्द्रीय प्रकाशन समितिका इञ्चार्ज का. बाबुराम भट्टराई हुनुहुन्थ्यो । उर्मिलाको शहादातपछि उहाँ मलाई भेट्न आउनु हुन्छ होला भन्ने लागेको थियो । पत्रिकाको काम प्रायः मंगलबार सकिन्थ्यो । बुधबार दिनभरी आराम गरिन्थ्यो । हामी ढिलोगरी खाना खाइन्थ्यौं । दिउँसोको खाना खाएर म पल्टिराखेको थिएँ । मलाई कमरेड पथिक फोनमा कुरा गर्दै सिंडी चढिरहेको आभाष भयो । असोजको महिना भएपनि दिल्लीमा असाध्यै गर्मी थियो । हामी घरको पाँचौं तलामा बस्दथ्यौं । पथिक आउनुभयो । अब उठ्नु पर्यो भन्ने लागेर उठेको मात्र थिएँ अध्यक्ष कमरेड प्रचण्ड गुणराजजी भन्दै कोठा भित्र छिर्नु भयो । एकछिनका लागि अक्क न बकक भएँ । टेवुलमा जनआवाज थियो । त्यसमा मैले उर्मिलाको सम्झनामा लेखेको संस्मरण थियो । उहाँले ए तपाईले लेख्नु भएछ भन्नु भयो । अर्को कोठामा कमरेड सावित्री पाण्डे बस्नु भएको थियो । हामी सबै पल्लो कोठामा गयौं । उहाँले उर्मिला साँच्चे नै हिरो हुनुहुन्थ्यो । आँशु झार्नुभयो । अध्यक्षका आँखामा नै आँशु झरेपछि अन्य हामीहरु पनि द्रवीभूत भएका थियौं । उर्मिलाको शहादातको खबर पाएपछि मेरा आँखामा आँशुु आएको थिएन । तर आज आयो । मलाई असाध्यै गर्व लाग्यो उर्मिलाको शहादात पछि आज मन हलुको भएको थियो । मेरा मुटुमा अटस्मटस् पीडाहरु थिए । म न रुन सकेको थिएँ, न पीडा व्यक्त गर्न सकेको थिएँ । म रोएँ । उर्मिलाको शहादत पछि मैले पार्टीको सर्वोच्च कमाडरले भेट्नु भयो ।
जनयुद्धमा जीवन साथीकै शहादातलाई पनि सहज र सरलरुपमा लिने संस्कृति बनिसकेको थियो । कुनै दुखद् र सुखद् घटनाहरु एक जनाको मात्र हुँदैन्थ्यो । सामुहिक हुन्थ्यो । तर पनि व्यक्तिगतरुपमा पर्ने मनोवैज्ञानिक असर बाँड्न सकिंदोरहेनछ । एउटै पार्टी कमिटिका समर, संगिन, प्रतिक, प्रभात, ऋतु, प्रहार, प्रवेश, लोकेश, सुनिल, खड्गबहादुर देवकोटा आफू अन्तर्गतका रमेश, तारा काफ्ले, उज्वल, मनिश, हाम्रो पार्टी कमितिको बैठकमा प्रमुखअतिथि भएर आउने वैकल्पिक पोलिट ब्यूरो सदस्य सुरेश वाग्ले, कृष्णसेन इच्छुक, शेरमान कुँवर, परिर्वतन, दीर्घ लगायतका मैले देखेका र चिनेका सयौं कमरेडहरुले शहादात प्राप्त गरिसक्नु भएको थियो । उर्मिलाको शहादातले आक्रोश, पीडा र गौरव एकैचोटी पैदा भयो । सायद यसरी बनेको मनोविज्ञानलाई उद्वेलन भन्दछ होला ।
जनयुद्धकै क्रममा म अछामको सबैभन्दा अग्लो पहाड रामारोशन पुगेको छु । जुम्ला र जाजरकोट बीचको टोप्लाको लेक, रोल्पाको जलजला, रुकुमको मैकोट चढेको छु । खिमडी भीडन्तका क्रममा ७२ घण्टासम्म पानी मात्र खाएर दौडिएको छु । त्यस बखत अग्ला पहाड र चुचुरा चढ्ने होडबाजी नै थियो । सबैभन्दा छिटो को हिड्ने, सबैभन्दा दुख कसले गर्ने, भीडन्तमा सबैभन्दा अगाडि को जाने, शहादात सबैभन्दा पहिला को हुने, व्यक्तिगत सम्पत्ति र जीवन सबैभन्दा पहिला कसले पार्टीकरण गर्ने जस्ता प्रतिस्पर्धा हुन्थ्यो । त्याग, वलिादान र समर्पण जनयुद्धका नयाँ संस्कृति बनेका थिए ।

बहुचर्चित चुनवाङ बैठकको लगतै त्यसले लिएका नीतिलाई कार्यन्वयन गर्नाका लागि हामी रोल्पाबाट हिडेर काठमाडौं पुग्नु पर्दथ्यो । जनमुक्ति सेनाको पहिलो डिभिजनसँगै हामी रोल्पाको दुम्लाबाट हिडे्ने योजनामा थियौं । २०६२ साल पुष ११ गते माओ जयन्तीका दिन थियो । हामी दुम्लामा थियौं । बिहान १० बजेतिर दुम्लाको आकाशमा एकैचोटी ५–५वटा हेलिकोप्टर बम बर्षाउँदै देखा परे । जासुस विमान(स्पाई)ले पाँचै वटा हेलिकप्टरहरुलाई मनिटरिङ, गाइडिङ र इन्स्टक्टिङ गरिराखेको थियो । उक्त कुरा हामीले रेडियोको माध्यमबाट सुनिराखेका थियौं । दुम्लाको नजिकै रहेको दारबोटमा जनताले शहीदमार्ग खनिराखेका थिए । जनमुक्ति सेनाले आक्रमण गर्दा जनता “ठोक–ठोक” भनी कराउँदथे । त्यो दिन साँझ ५ बजेसम्म दोहोरो भीडन्त भैराख्यो । त्यो रात हामीले दुम्लामा नै सेन्ट्री पालोपाल गरेर सुत्यौं ।
भोली पल्ट विहान सुतेका घरबाट बाहिर निस्केका थियौं । ठीक त्यसै बखत हाम्रो माथिबाट जासुस स्पाइ प्लेन उड्न थाल्यो । जासुसी विमानले हामी देखेको हुनुपर्दछ । उसैको निर्देशन बमोजिम आकाशै फुट्ने गरी गडगडाउँदै एउटा हेलिकोप्टर हाम्रो नजिकै आयो । हामी घरबाट बाहिर निस्किएर उकालो चढ्दै थियौं । हेलिकप्टरले हाम्रो नजिकै आएरर्भ्यारर र्भ्यारर फायरिङ गर्यो । त्यसले फायरिङ गरेको गोलीबाट बच्दै हामी खोल्साखोल्सै दौडन थाल्यौं । माथिबाट जासुसी विमानले निर्देशन गर्दछ । तलबाट हेलिकप्टरले लखेट्छ । दुई घण्टासम्म हामीलाई हेलिकप्टरले लखेट्यो । दुम्लाबाट दारबोटसम्म दौडियौं । कैयौं मान्छलाई पहाडमा हिड्नु पनि महाभारत हुन्छ । हामी त घण्टौं दोडिएका थियौं । थकाइ र भोकले लखतरान परेका थियौं । आखिर मान्छको शरीर न हो । थकाइ, भोक, पीडा सबै मान्छेलाई हुन्छ । यस्तो अवस्थामा भोक लागेमा विचार खान्थ्यौं । पीडा हुँदा विचारको मलहम लगाएादथ्यौं । यस दृश्य कुनै कुशल छायांकन कर्ताको हातमा परेको भए हलिवुडको एक्सन चलचित्र जस्तो हुन्थ्यो होला ।
पुष १४ गते संगठनको तर्फबाट म र महासचिव कर्ण बस्नेत, जनमुक्ति सेनासँगै करेटीबाट हिड््यौ । पुषको महिना रातभरि हिड्ने, दिन भरी सुरक्षित सेल्टर खोजेर दिन भरी बस्ने गर्दै प्यूठान, अर्घखाँची, पाल्पा हुदैं स्याञ्जा पुग्दा दुश्मनले चारैतिरबाट घेरा हालेको थियो । राती २ बजे गर्कोट पुगेका मात्र थियौं, भीडन्त शुरु भैहाल्यो । आकाश र पैदल दुबैतिरबाट आएको दुश्मनसँगको भीड्न ३ दिनसम्म चल्यो । बोर्डर भञ्ज्याङ, चित्रेभञ्ज्याङ र मनकामनामा भीषण लडाँइ भयो । पुष २९ गते साँझ ३ बजेतिर हामी बसेको भन्दा १५ मिनेट पैदलबाटोमाथि मनकामनामा लगातार २ वटा हेलिकोप्टरले फोर्स झार्यो । जनमुक्ति सेनाको टुकडीले आक्रमण थाले पछि तिनीहरुको रुवाबासी हुन थाल्यो । भीडन्त हुने बित्तिक्कै एफएम सुन्न अभ्यस्त हामीहरुले सुन्न थाल्यौं । “सर घाइते हुनु भयो, हामी अब बच्दैनौं, हामीलाई यहाँबाट उद्धार गर्नुहोस् ।”फील्ड कमाण्ड गर्नेको यस्तो रोदन् सुन्न पाइन्थ्यो भने “रात पनि पर्दैछ हामीले यो भन्दा बढी गर्न सक्दैनों ।”
एकै चोटी दुईवटा एमआई–१७ हेलिकोप्टर उतार्न खोज्दै थियो तलबाट भीषण आक्रमण भयो । हेलिकोप्टरलाई गोली लाग्यो । फोर्स ल्याण्डिङ गर्न खोज्यो सकेन । तलको रुवाबासी माथिको क्षतविक्षतले जनमुसिक्त सेनामा थप उत्साह थपियो भने शाही सेना मनोबल खस्कियो । साँझ बढ्दै गयो । एक्कैछिन पछि हामी बसे भन्दा १० मीनेट तल अर्को भीडन्त भयो । यसै भीडन्तको बीचबाट हामीहरुलाई जनमुक्ति सेनाले घेरा बाहिर सुरक्षित निकाल्यो । हाम्रो गण्डक बसाइृ लडाँइ–लडाइँको बीचबाट गुज्रियो । संगठनको कामले गर्दा गोर्खातिर लाग्यौं । जनयुद्धको ११औं वार्षिकोत्सव गोर्खाको गुम्दामा मनायौं । अध्यक्ष कमरेडको बहुचर्चित र विचारोत्तेजक बीबीसीको अन्तरर्वार्ता सुनेर वार्पाक गयौं । डाँडोलाई सेतो हिउँले ढाकेको थियो । घलेहरुको ठूलो बस्ूती वार्पाक नेपालकै सबै भन्दा ठूलो गाउँ रहेछ । “न्याय नपाए गोर्खा जानु खोज्न”भन्ने होइन कि “अन्याय खोज्न गोर्खा जानु”पर्ने यथार्थ वार्पाक गएपछि जो कोहीले थाहा पाउँछ । राम शाहले घलेहरुमाथि गरेको धोकाधडी, षडयन्त्र र भीषण दमन यसको ज्यूँदोजाग्दो प्रमाण हो । त्यो प्रमाण बोकेर अहिले पनि मान्द्रे डाँडामा सिलालेख ठिङ्ग उभिएको छ ।

गोर्खा, धादिङ, चितवन, मकवानपुर हुदैं काभ्रे पुगियो । चैतको महिना भएकाले डाँडा भरिको गुराँस रातम्मै फुलेको थियो । कुरो चैत १४ को हो । जनमुक्ति सेनाको बेथान स्मृति ब्रिगेडले फापरबारी, काभ्रे भञ्ज्याङ, दाप्चामा भएको फौजी कार्वाहीमा भारी मात्रामा अत्याधुनिक हतियार कब्जा गर्न सफल भएको थियो । त्यसैले २०६२ साल चैत १४ गते बेथान स्मृति ब्रिगेडलाई स्वागत तथा अभिनन्दन कार्यक्रम राखिएको थियो । बाफलबाट बस चढेर हामी ठोकर्पातिर हिड््यौं । ठोकर्पा पुगेर हामी खाना खान थाल्यौं । जनमुक्ति सेना र जनताहरु बस चढेर बाघ भैरव माध्यमिक विद्यालयतिर गैराखेका थिए । कमरेड कञ्चन र कमरेड अनन्त बसिराख्नु भएको रहेछ । हामीले पनि खाना मागेर खायौं । मैले मुठ्ठी उठाएर सलाम गरें । टाढैबाट हेल्लोहाई र भलाकुसरी भयो । हामीले खाना के खाइसकेका थियौं ठीक त्यसै बेला काठमाण्डौतिरबाट जासुसी विमान चिल घुमेझैं हामी माथि घुम्न थाल्यो । निमेश भरमै आकाशै फाटेको आवाज गरि एकै चोटी ४ वटा लडाकु हेलिकोप्टर हामीमाथिको आकाशमा देखा परे । मान्छेहरुले अब के के हुन्छ भनेर कल्पनानै गर्न पाइराखेका थिएनन् होला सायद । तर हामीलाई अनुमान लगाउन गाह्रो परेको थिएन दुष्टहरुले के गर्छन् भनेर । ४–४ वटा हेलिकोप्टरबाट एकै चोटी एचएमजीले जताजता जनता छन् त्यतैतिर फायर गर्न थाल्यो । टु इञ्च मोर्टार, ८१ एमएम, रकेट लञ्चरले आक्रमण गर्यो । मान्छेहरुमा रुवाबासी, चिच्याहट, कोलाहल मचियो । हेर्दाहेर्दै स्कूलको छानो उड्यो । भित्ताहरु ढल्न थाले । गोठमा बाँधिएका गाई, भैंसी, बाख्रा गोली, बमले मरे । घरै बसेका ६३ वर्षीय बमबहादुर खत्री आँगनमै ढले । जनमुक्ति सेनाका क.रमेश, क.संजीव, क.उज्जलहरु लड्दालड्दै युद्ध मैदानमा ढल्नु भयो । हामी विद्यालय नजिकै बसेका थियौं । हाम्रो वरिपरि बम, गोला र गोली खसिराखका थिए । दुश्मनको रणनीति बुझ्न पुरानै तरिका अपनायौं–एफएम खोलेर । जासुसी विमानले कमाण्ड गरिराखेको थियो–“जनताको घरमा हानिदे, स्कूलको भित्ता भत्काइदे, गोठमा हानिदे”। भोजराज भाट, कियोको ओगुराहरु आएका रहेछन् । कमरेड अनन्तले जनमुक्ति सेनाको एउटा टुकडीलाई पत्रकारहरुको सुरक्षाकालागि खटाउनु भयो । जसरी भएपनि वहाँहरुको जस्तो किसिमको वलिदानी गरेर पनि सुरक्षित राख्न निर्देशन गर्नु भयो । नेतृत्वको मूख्य टिम नै त्यहाँ भएकाले सुरक्षित ठाउँमा पुग्नु जरुरी थियो । पहिलो ग्रुपमा कमरेड अनन्त र कमरेड कञ्चन हिड्नु भयो । त्यसको केही समय पछि हामी हिड्यौं । ढुंगा, रुखको कभर लिदैं, खोल्सो–खोल्सै दुश्मनको टार्गेटलाई छल्दै जामुनेको सल्लाघारीमा बस््यौं । हेलिकोप्टरले हानिनै राखेको थियो । हामीहरु उसको चाल बुझिराखेका थियौं । परिस्थितिको आँकलन गरिराखेका थियौं । त्यसैबेला कमरेड अनन्तले मजाक पनि गर्नु भयो–“लोहनी सर तपाइँलाई यहाँबाट छिटो पूर्व पठाउनु पर्यो ।” मैले भनें किन कमरेड, वहाँले हाँसेर भन्नु भयो “तपाई जहाँ जानुहुन्छ त्यहाँ लडाइँ हुन्छ, तपाइँ रोल्पामा बस्दा रोल्पामा, गण्डकमा जानु भयो गण्डकमै ।”
हेलिकोप्टर र जासुसी विमान उड्ने दर घट्दै गयो । ४ बजिराखेको थियो । हेलिकोप्टर र जासुसी विमान नआएको १ घण्टाा भैराखेको थियो । अब सायद नआउला हाम्रो विश्लेषण रह्यो । हामी बसेको जंगलबाट १५ मिनेटको दूरीमा अर्को त्यस्तै जंगल थियो । त्यतैको बाटो भएर जाने निर्णय गर्यौं । सबैभन्दा अगाडि एउटा एलएमजी बोकेको १२ जनाको जनमुक्ति सेना त्यसपछि कमरेड अनन्त, कमरेड कञ्चन, बन्धु, उषा, म, कार्णजी, कलाकार टीम, बच्चाका आमाहरु सहित लगभग सय जना लस्कर लागेर खूल्ला खेतमा हिड््यौं । बीच खेतमा पुग्न पाएकै थिएनौं जासुसी विमान आइहाल्यो । त्यसको लगतै यमानका २ वटा हेलिकोप्टर हाम्रो नजिकै आए । सबको भागदौड हुन थाल्यो । हाम्रो टीम तितरबितर भयो । हामीसँग कमरेड अस्मिता(देवी खड्का)की एक वर्षीय छोरी रोजीदेखि १०५ के.जी.को यादव दाहालसम्म हुनुहून्थ्यो । हाम्रो इच्छा त सबैसकुशल रहने र बाँच्ने नै भयो । तर त्यो हाम्रो इच्छा ,चाहना र बसको कुरा थिएन । क्षतक्षित भएको हाम्रो टीममा कस्को के हाल भयो थाहा पाउने कुरा भएन । टाउको नजिकै हेलिकोप्टर आउन थाल्यो । एउटा हेलिकप्टरमा मुख बाएको ठूलो ड्र्यागनको चित्र थियो र अर्को हरियो थियो । हाम्रै नजिक दुबैलाई ल्याण्ड गर्यो । अरु कसरी कता गए थाहा भएन । म र अनुशिल(अग्नि सापकोटाका कान्छा छोरा) सँगसँगै दौडियों । मैले चप्पल लगाएको थिएँ । खोल्सा खोल्सै हाम्फाल्दै तल झर्यौं । हिलोमा खुट्टा गाडिँदा चप्पलको फिता चडिँयो । अर्को चप्पल पनि त्यहीँ छोडेर दौड्दैं गर्यौं । हामी भीरमा पुग्यौं । फर्किनु भनेको आत्मघाती हुन्थ्यो । हेलिकोप्टरले हान्न खाजिरहेको थियो सायद । नजिकै आउँथ्यो । तर खोल्सो भएकाले मिलिरहेको थिएन । बाँदर जस्तै गरी हाँगाहरु समात्दै तल झर्यौं । हातको असन्तुलनका कारण म १५ मीटर तल झर्न पुगें । पछाडि पिठ्यूँमा बोकेको झोला हाँगोमा अड्कियो । झोला त छोड्नुभएन । त्यसैले सकिनसकी झोला टङ्गिएको हाँगो समात्दा भाँचियो र झोला सहित म १५ मिटरकोउचाइबाट खोलामा झरें । चोट कहाँकति लाग्यो भन्नतिर लाग्नु भन्दा पनि सुरक्षित रहनु प्रमुख थियो । झोलाको फिता चुँडिए छ । अनुशिलको ल्यापटप कम्प्युटर पनि त्यसै गरी हाँगामा झुण्डिएछ । त्यसलाई तत्काल निकाल्न सकिने स्थिति थिएन । मेरो झोलालाई ढुङ्गाको कोप्चेरोमा घुसारेर पातपतिगांरले छोपेर खोलैखाला तल झर्यौं । वाफलतिरबाट आएको खोलामा पुग्दा क.अनन्त, कञ्चन, उषा, बन्धु, कर्णजीहरु जम्मा हुनु भएको रहेछ । सुरक्षाका दृष्टिकोणले हामी भंयाकर संकटमा थियौं । तर पनि एकछिनका लागि हाँसो चल्यो । एकले अर्कालाई हेरेर हाँसिरहेका थियौं । कसैको पनि स्थिति ठीक थिएन । कसैको जुत्ता, चप्पल थिएन । कपडाहरु च्यातिएका थिए । हिलोमाटोले शरीर लतपत्तिएको थियो । सेना उतारेको पक्कापक्कि थियो । त्यसैले जतिसक्दो छिटो यो ठाउँ छोड्नुमा नै भलो थियो । दक्षिणतिरको डाँडोमा चड्न थाल्यौं । हामी जतातिरबाट झरेका थियौं त्यतैबाट १०० जनाको आसपासमा कालाकाला मान्छेहरु हमिङ्ग गर्दै झरेका थिए । हामीलाई अड्कल गर्न अप्ठ्यो परेन किनकी त्यो दुश्मन नै थियो । १०० मिटरको दूरीबाट ब्रस्टमा एम–१६ फायर गर्यो । हामीलाई कुनै कभर थिएन । ठूलो ढुङ्गा,ठूलो रुख, ठूलो मूढा केही थिएन । कुनै खोल्साखोल्सी पनि थिएन । हामी उकालोमा परेका थियौं । जति गतिशिल भयो त्यत्ति बाँचिने । दिमाग तीब्र गतिमा दौडिर्यो । यस्तो महसूस भयो कि हामी त मृत्यको मुखमा छौं । बाँच्ने आशाहरु कम छन् । बाँचे पनि कस्तो स्थितिमा । हामी बाँच्नु र मर्नु भन्दा पनि नेतृत्वको सुरक्षाको प्रश्न प्रधान बन्दै गयो । मेरो ध्यान अनन्त र कञ्चनतिर थियो । अनन्तजी फर्तिलो र सानो पनि हुनुहुन्थ्यो र खुर्खुर अगाडी दौडिनु भयो । कञ्चनजी अग्लोमोटो । त्यसैले वहाँलाई छोडिन । दुश्मनको फायरिङ्गको आर्क हामीतिर परिराखेका थियौं । उकालोमा एउटा कान्लो आइपुग्यो । त्यो कान्लो जसरी पनि उक्लिनु पर्दथ्यो सुरक्षाका दृष्टिकोणले । त्यो दुश्मनले बुझ्ने कुरा भैहाल्यो । यही अवसर छोप्यो भीषण फायरिङ्ग गर्यो । त्यहिं सोत्तर पार्ने सोचेको हुदाें हो । म सकिनसकि उक्लिएँ । माथि गएर कञ्चनजी, बन्धुजी, कलाकार र सेनाका साथीहरुलाई तानेर माथि ल्याएँं । मलाई थाहा भएन त्यत्रो शक्ति कहाँबाट आयो । हामीसँग रहेको जनमुक्ति सेनाको सानो टुकडी हामीमाथि रहेको ढिस्कोमा पुगेछ । एलएमजी स्ट्याण्डमा राखेर अटोमा फायर गर्दा हेपेर आएको रेञ्जरबटालियन मध्यको एक जनाको टाउको पच्यातपुभुत भएछ र मात्र हच्कियो । केही बेरमा नै फेरी हामीतिर आक्रमण बढायो । उसले हाम्रो पोजिसन थाहा पायो । गोलीहरु चूइँचूइँ गर्दै आउँथे । हामीले कभर लिएको भित्ताहरुमा गोभिन पुग्दथे । मलाई सैन्य तालिमको याद आयो । म पूर्ण कालिन कार्यकर्ता हुने बित्तिक्कै राजनैतिक आयुक्त बनाइ सैन्य तालिममा पठाइएको थियो । त्यो आधारभूत तालिम लिंदा शारीरिक कष्ट भएकै थियो । साथै उत्साहित भइएको थियो । त्यहि आधारभूत तालिमबाट प्राप्त ज्ञानका कारण कैयौं पटक बाँच्न सफल पनि भइयो । तालिम दिने गुरुले सिकाउँदा –“ जेलाई पनि कभर बनाउन सकिन्छ, हतियार जेलाई पनि बनाउन सकिन्छ“ भन्ने वाक्य दोहोरिराख्यो । उजाड डाँडोमा हामीले सोचेको जस्तो भकर थिएन । साना–साना खिर्राका बुट्यान, थोरै उठेको ढिस्को, हाँगाबिगा, वनमाराको झाडी हाम्रा राम्रा कभर भएका थिए । कति त आइकभर मात्र थिए । दुश्मनको आकाश र जमिनको ठोकाइबाट हामी बचिराखेका थियौं । अलि फायरिङ्ग कम गरेको थियो । त्यसै बेला सानो गोरेटो बाटो आयो । बन्धुजी दौडेर अगाडी बढ्नु भयो । पछिपछि कञ्चन पनि ठाठाठै दौढनु भयो । म त्यो बाटोमा पुग्ने बित्तिक्के भीषण फायर गर्यो । म क्रलिङ्गमा गएँ । भूँइ भरी रगतैरगत पोतिएको थियो । मलाई शंका लाग्यो कुनै कमरेडले शहादत प्राप्त गर्नु भयो कि भनेर । म क्रलिङ्ग गर्दै नजिकैको झाडीमा पुगें । बन्धुले बोलाउनु भयो । कञ्चनजी पल्टि राख्नु भएको रहेछ । मेरो दिमागमा झट्का लाग्यो । आफू शहीद भएर पनि आदरणीय नेता गण बाँचिदिए हुनेथियो, शुरुदेखि नै मैले यहि सोचेको थिएँ । युद्धमा सोचेको जस्तो कहाँ हुँदो रहेछ र । युद्धक्रान्तिले जो सुकैको पनि त्याग, समर्पण र वलिदानी माग्दो रहेछ । नजिकै गएर कञ्चनजीको अवस्था बुझें । उहाँको दाहिने हातको पञ्जा, पिठ्यूँ र पेटमा गोली लागेको रहेछ । तर पनि उहाँ खतरा मुक्त हुनुहुदो रहेछ । “तपाइँ तुरुन्तै अनन्त कमरेडलाई खोज्नु होस् र मेरा बारेमा जानकारी दिनुहोस् मसँग बन्धुजी बस्नुहुन्छ, चिन्ता गर्नु पर्दैन ।” कञ्चनले मलाई आदेश गर्नु भयो । हामी दुई जनाले बोकेर माथि लैजान सक्ने स्थिति पनि थिएन । मैले आदेश मान्नु बाहेक अर्को उपाय पनि थिएन । बिस्तारै साँझ पनि परिरहेको थियो । पश्चिमतिर डुब्दै गरेको घामले सुरक्षित रहनु है भनेको भान हुन्थ्यो । तै पनि आकाशमा हेलिकोप्टर र जासुसी विमानले गस्ति गरिराखेको थिए । म दौडेर उकालो चढें । मेरो शारीरिक बनावट देखेर कतिलाई हाँसो लाग्न सक्छ यो मान्छे कसरी उकालोमा दौड्यो होला भनेर । हाँस्नै छ भने कर्णबहादुर र यादव दाहालको घटना सम्झेर हाँस्दा हुन्छ । सबैभन्दा पछाडि उहाँहरु हुनुहुन्थ्यो । मैले अगाडि नै भनें कर्णजी ५४ किलो, यादवजी १०५ किलो । दुश्मनले आक्रमण गर्दा कहिले कर्णलाई यादवले ढाल बनाए, कहिले यादवलाई कर्णले ढाल बनाए । दुुश्मनले ताकेरै उहाँहरुलाई हानेको भए यादवको ढाल कर्ण त के हुनसक्दथे र तर एक पटकका लागि कर्णकालागि यादव ढाल हुन सक्दथे होलान् । एकले अर्कालाई छाडेन छन् ।
म दौडिदै माथि पुगें । त्यसैबेला एउटा हेलिकोप्टर आयो र मेरै नजिकै ल्यायो भ्यार्रर पार्यो । मैले दबदेको फेदको कभर लिएँ । गोली चलाउँदै त्यो काठमाण्डौतिर लाग्यो । अँध्यारो हुदैं गयो । जनयुद्धका क्रममा अन्तिम मुठभेड यही रहेछ । त्यसपछि हामी काठमाडौं आयौं । जनआन्दोलनमा भाग लियौं ।
अहिले जनयुद्ध छैन । भीडन्त छैन । मार्क्सवाद–लेनिनवाद–माओवाद र प्रचण्डपथ जिन्दावाद भन्दै शहीदहरुले जीवन न्यौछावर गरेका थिए । अहिले हामीसँग त्यो विचार छैन । शहीद, बेपत्ता, घाइते, जनता र नेता कार्यकर्ताले देखेको सपना अहिले पनि पूरा भैसकेका छैनन् । सपना विपनामा परिणत भैसकेको छैन । हिजो जनता, कार्यकर्ता र नेताले गरेको त्याग, वलिदान र समर्पणको मूल्य प्राप्त भैसकेको छैन । शहीद सप्ताह मनाउँदै गर्दा ती महान् शहीदहरुले देखाएको गौरवपूर्ण बाटो नयाँ तरिकाद्वारा कोरेको छौं वैज्ञानिक समाजवादी क्रान्तिको दिशामा अघि बढ्ने ।
सन्दर्भ शहीद सप्ताह




१दलितसँग माफी माग्ने कि, क्षतिपूर्ति ! (सन्दर्भ : छुवाछुत उनमुलन राष्ट्रिय दिवस)
२प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपा (बहुमत) को आपत्ति, आन्दोलन घोषणा
३एसियाली खेलकुद छनोटका लागि दिपेन्द्रको कप्तानीमा टी–२० नेपाली क्रिकेट टोली घोषणा
४फासीवादी विभ्रम र क्रान्तिको उज्ज्वल भविष्य
५आउनुहोस्, कायपक्कायाको बाटो पछ्याऔँ, टिकेपी–एमएल(TKP-ML)
प्रतिक्रिया